कोप-२६ मा प्रधानमन्त्री देउवाले को को विश्व नेतालाई भेटे? – Sher Bahadur Deuba

कोप-२६ मा प्रधानमन्त्री देउवाले को को विश्व नेतालाई भेटे?

कोप-२६ मा प्रधानमन्त्री देउवाले को को विश्व नेतालाई भेटे?

काठमाडौं, कात्तिक १७ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका संरचना (यूएनएफसीसीसी) को २६औँ शिखर सम्मेलन (कोप-२६) मा सहभागी हुन अहिले विश्वका विभिन्न देशका लगभग एक सय २० राष्ट्रप्रमुख तथा शीर्ष नेताहरू स्कटल्यान्डको ग्लास्गोमा छन्। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि कोप-२६ मा प्रतिनिधित्व गर्न अहिले ग्लास्गोमै छन्।

कोप-२६ सम्मेलनमा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तन सम्बन्धमा नेपालको लक्ष्य, योजना र शक्तिराष्ट्रहरूको भूमिकाबारे प्रभावशाली सम्बोधन गरेका थिए।

सम्बोधनमा देउवाले नेपालको नेट जिरो इमिसनको महत्त्वाकांक्षी लक्ष्य, ४५ प्रतिशत भूभाग वनले ढाक्ने योजना, बढ्दो विश्वव्यापी तापमानले हिमाली मुलुकको जनजीवनमा पारेको असरलगायत विषयमा चर्चा गरेका थिए। त्यसपछि केही प्यानल डिस्कसनमा पनि सहभागी भएका देउवाले विभिन्न देशका राष्ट्रप्रमुख तथा अन्य व्यक्तिहरूसँग भेटवार्ता पनि गरेका थिए।

(१) जो बाइडेन (राष्ट्रपति, अमेरिका)

प्रधानमन्त्री देउवाले कोप-२६ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग संक्षिप्त भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवा र बाइडेनबीच नेपाल-अमेरिकाको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी सहयोगका बारेमा चर्चा भएको थियो।

बाइडेनले नेपालको सर्वाङ्गीण विकासमा अमेरिकाको सदैव सहयोग रहने प्रतिबद्धता जनाउँदै द्विदेशीय सम्बन्ध अझ सुमधुर हुँदै जाने विश्वास पनि व्यक्त गरेका थिए। प्रधानमन्त्री देउवाले पनि भेटवार्ताका क्रमा नेपाल-अमेरिकाको ७४ वर्ष लामो मित्रता अझै प्रगाढ हुँदै जाने र भविष्यमा सहकार्य गर्दै जाने विश्वास व्यक्त गरेका थिए।

(२) बोरिस जोन्सन (प्रधानमन्त्री, बेलायत)

प्रधानमन्त्री देउवा र बेलायती समकक्षी बोरिस जोन्सनबीच अर्थपूर्ण भेटवार्ता भएको थियो। प्रधानमन्त्री जोन्सनले जाहेर गरेको ‘पृथ्वी बचाउने अन्तिम अवसर’ अभिव्यक्तिप्रति देउवाले ऐक्यबद्धता जनाएका थिए।

कोप-२६ सम्मेलनमा दुई प्रधानमन्त्रीबीच दुई देशीय सम्बन्ध र आपसी सहयोगका बारेमा कुरा भएको थियो। त्यसपछि प्रधानमन्त्री देउवा र जोन्सनबीच मंगलबार ब्रेकफास्टमा भेटवार्ता भएको थियो। त्यसक्रममा नेपालको ४५ प्रतिशत भूभाग वनले ढाक्ने महत्त्वाकांक्षी योजनामा बेलायतले गर्न सक्ने सहयोगका बारेमा चर्चा भयो।

प्रधानमन्त्री जोन्सनले नेपालको सन् २०४५ सम्मको नेट जिरो इमिसन लक्ष्यप्राप्तिमा पनि पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सन् २०३० सम्ममा विश्वभरबाट वनविनाश अन्त्य गर्ने योजनामा नेपाल र बेलायतबीच सहकार्य गर्ने सहमतिसमेत भएको छ।

(३) निकोला स्टरजन (फस्ट मिनिस्टर, स्कटल्यान्ड)

प्रधानमन्त्री देउवाले स्कटल्यान्डकी राज्यप्रमुख निकोला स्टरजनसँग पनि भेटवार्ता गरेका थिए। बेलायतका प्रधानमन्त्री जोन्सनसँग ब्रेकफास्टका क्रममा भएको भेटमा स्टरजन पनि उपस्थित थिइन्। देउवा र स्टरजनबीच मुख्यतः नेपालको वनजंगल तथा वनविनाश रोकथाम तथा सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो।

(४) नरेन्द्र मोदी (प्रधानमन्त्री, भारत)

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच निकै लामो भेटवार्ता भएको थियो। दुई देशका समकक्षीबीच आपसी सम्बन्धलगायत थुप्रै विषयमा चर्चा भएको थियो।

महामारी नियन्त्रण, दीगो विकास, जलवायु परिवर्तनलगायत गम्भीर विषयमा सहयोग आदानप्रदान जारी राख्नुका साथै अझ बढाउँदै जाने सहमति भएको छ। दक्षिण एसिया क्षेत्रमा कोभिड-१९ तथा जलवायु परिवर्तनको प्रकोप नियन्त्रणमा सहकार्य गरिने दुई प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका थिए।

(५) गोटाबाया राजापाक्षे (राष्ट्रपति, श्रीलंका)

कोप-२६ को मौका पारेर प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेबीच भेटवार्ता भएको छ। भेटवार्तामा दक्षिण एसियाका दुई छिमेकी मुलुकबीचको मित्रता अझै सुमधुर बनाउँदै जाने र आपसी सहयोग तथा सहकार्य पनि बढाउँदै जाने सहमति भएको छ।

(६) उक्ना खुरेलसुख (राष्ट्रपति, मंगोलिया)
प्रधानमन्त्री देउवाले कोप-२६ को अवसर पारेर मंगोलियाका राष्ट्रपति उक्ना खुरेलसुखसँग पनि साक्षात्कार भेट गरेका थिए। भेटमा कला तथा सांस्कृतिक समानताका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोप-२६ ले जुराएको भेटघाटले दुई देशबीचको सम्बन्ध अझै सुमधुर बनाउँदै लैजाने दुवै राष्ट्रप्रमुखले विश्वास प्रकट गरेका छन्।

(७) बेन वालेस (रक्षामन्त्री, बेलायत)

बेलायतका रक्षामन्त्री बेन वालेससँग पनि प्रधानमन्त्री देउवाले भेटघाट गरेका छन्। भेटवार्ताका क्रममा गोर्खा सैनिकको आन्दोलन तथा माग सम्बोधन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

(८) एन्टोनियो गुटेरेस (महासचिव, संयुक्त राष्ट्रसंघ)

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री देउवाबीचको भेटघाटमा कोप-२६ मा नेपालले उठान गरेका विषयवस्तुलाई लिएर छलफल भएको थियो। देउवाले नेपाल पेरिस सम्झौता कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका थिए।

जलवायु परिवर्तनको समस्या समाधानमा यूएनएफसीसीसीका सबै पहलमा नेपालको ऐक्यबद्धता रहने र संयुक्त राष्ट्रसंघले नेपालका लक्ष्य तथा योजनामा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो।

(९) मारी पान्जेस्तु (प्रबन्ध निर्देशक, विश्व बैंक)

कोप-२६ को अवसर पारेर विश्व बैंककी प्रबन्ध निर्देशक मारी पान्जेस्तुले पनि देउवासँग भेटघाट गरेकी छन्।

भेटघाटका क्रममा कोभिड-१९, जीआरईडी, मानव पूँजीलगायत विषयमा नेपाल र विश्व बैंकबीच भइरहेको सहकार्यलाई अझै बढाउनेबारे छलफल भएको थियो।

(१०) एलेक्सिया लाटोर्तु (उपप्रमुख कार्यकारी अधिकृत, एमसीसी)

मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) की उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया लाटोर्तुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेकी थिइन्। भेटमा एमसीसी सम्झौता बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

(११) तारिक अहमद (विदेश राज्यमन्त्री, बेलायत)

बेलायतका विदेश राज्यमन्त्री तारिक अहमदले प्रधानमन्त्री देउवासँग भेटेर जलवायु परिवर्तनसम्बन्धमा नेपालका महत्त्वाकांक्षी योजनाको विषयमा छलफल गरेका थिए। नेपालले लिएको लक्ष्य पूरा गर्न बेलायतका तर्फबाट पूर्ण सहयोग रहने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

Post comment

Related Articles