काठमाडौं, साउन १२: प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा विज्ञान राष्ट्रय प्रतिष्ठान वीर अस्पतालको सेवालाई अझ बढि प्रभावकारी बनाउन निर्देशन दिदै सरकार सहयोग गर्न तयार रहेको बताउनु भएको छ । 
वीर अस्पतालको १२८ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै प्रधानमन्त्रीले पछिल्लो सयम वीर अस्पतालको सेवाको गुणस्तरमा आएको बृद्धि महशुन गर्नेगरी भएको पनि बताउनु भयो । ‘यस अस्पतालको सेवालाई गुणस्तरीय बनाउन नेपाल सरकारले आवश्यक उपकरणको खरिद एवं व्यवस्थापनको लागि प्रयाप्त बजेटको विनियोजन गरेको छ’ प्रधानमन्त्रीले भन्नुयो, ‘यसबाट नागरिकले प्रत्यक्ष अनुभूति हुने गरी सेवाको प्रभावकारितामा वृद्धि हुने अपेक्षा मैले राखेको छु।’
आधारभूत स्वास्थ्य सेवा पाउने प्रत्येक नेपालीको मौलिक हक रहेकोले बताउदै प्रधानमन्त्रीले यस प्रतिष्ठानको भुमिका प्रभावकारी रहेको पनि बताउँनु भयो । ‘नीतिगत, कानुनी, संस्थागत एवं व्यवस्थापकीय क्षेत्रमा सुधार गरी संबैधानिक हकको प्रत्याभूति गर्ने कार्यमा नेपाल सरकारले आफ्नो प्रयासहरुलाई अझ प्रभावकारी रूपले अगाडी बढाउने समेत म यस अवसरमा व्यक्त गर्न 
चाहन्छु’ प्रधानमन्त्रीले भन्नुभयो, ‘वीर अस्पतालले आम सर्वसाधारण मूलतः विपन्न नागरिकहरूप्रति पुर्‍याएको सेवामा अझै वृद्धि गर्दै अस्पतालको व्यवस्थापनलाई अझ प्रभावकारी, दक्ष, गुणस्तरीय, सुशासनयुक्त बनाउँदै सबैका लागि अनुशरणीय व्यवस्थापन गर्नेछ भन्ने विश्वास लिएको छु ।’
 
 
नेपालको जेठो अस्पतालको रुपमा रहेको यस अस्पताल वि।सं। २०५९ सालदेखि नेपाल सरकारको निर्णय अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको रूपमा समेत रूपान्तरण भै कार्य प्रारम्भ गरी देशभरका विरामीहरुका लागि पुर्‍याउँदै आएको उपचारात्मक सेवामा देखिएको परिमाणात्मक वृद्धि एवं गुणस्तरमा आएको स्तरोन्नतिबाट आम नागरिक लाभान्वित भएको भनाई प्रधानमन्त्रीको थियो । 
प्रधानमन्त्रीले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा नेपाल सरकारद्वारा प्रदान गरिएको ५२० रोपनी जग्गामा प्रतिष्ठानको केन्द्रीय भवन, नर्सिङ कलेज लगायत अत्याधुनिक पूर्वाधारको विकास गरिने लक्ष्यलाई पूरा गर्न नेपाल सरकारबाट सहयोग हुने धारणा पनि उक्त कार्यक्रममा राख्नुभयो ।