कर्णालीमा देउवा पक्षको वर्चस्व – Sher Bahadur Deuba

कर्णालीमा देउवा पक्षको वर्चस्व

कर्णालीमा देउवा पक्षको वर्चस्व

सुर्खेत — कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत कर्णालीका ८ जिल्लामा शेरबहादुर देउवा पक्षका ६ र रामचन्द्र पौडेल पक्षका २ जना सभापतिमा विजयी भएका छन्। देउवा पक्षबाट डोल्पामा दिपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह, जुम्लामा कर्णबहादुर शाही, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली र मुगुमा ऐनबहादुर शाही जिल्ला सभापतिमा विजयी भएका हुन्।

पौडेल पक्षबाट भने कालीकोटमा अम्बहादुर शाही र जाजरकोटमा वेदराज सिंह विजयी भए। यसअघि पौडेल पक्षमा रहेका सिंहलाई दुवै पक्षले आफ्नो दाबी गर्दै आइरहेका छन्। सुर्खेत र दैलेखमा भने जिल्ला अधिवेशन हुन बाँकी छ । महाधिवेशन प्रतिनिधिमा पनि देउवा पक्षको वर्चश्व देखिएको छ।

क्षेत्रीय अधिवेशन सकिएका ७ जिल्लाका २ सय ३० महाधिवेशन प्रतिनिधिमध्ये देउवा समूहका १ सय ३१ र पौडेल पक्षका ९९ जना निर्वाचित भएका छन् । जुम्ला र डोल्पामा मतगणना जारी छ भने रुकुम पश्चिममा निर्वाचन हुन सकेको छैन। सुर्खेतमा ५० र हुम्लामा २६ जना महाधिवेशन प्रतिनिधि सबै देउवा समूहमा छन्। जाजरकोटमा २७ मध्ये ८ देउवा र १९ पौडेल पक्षका, सल्यानमा २६ मध्ये ३ देउवा र २३ पौडेल पक्षका र मुगुमा २५ मध्ये १८ देउवा र ७ पौडेल पक्षका छन्। त्यस्तै कालीकोटमा २६ मध्ये १६ देउवा र १० पौडेल पक्षका र दैलेखमा ५० मध्ये १० देउवा र ४० पौडेल समूहबाट निर्वाचित भएका छन्।

रुकुम पश्चिममा दोहरिए ओली

कांग्रेस रुकुम पश्चिमको सभापतिमा प्रेमप्रकाश ओली दोहोरिएका छन्। छैटौं जिल्ला अधिवेशनमा निर्वाचित ओली सातौं अधिवेशनबाट सहमतिमार्फत सभापति चुनिएका हुन्। उपसभापतिमा हर्कसिङ खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर, तथा सहसचिवमा यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्का चयन भएका छन् । क्षेत्रीय सभापतितर्फ निर्वाचन क्षेत्र ‘क’ मा महेन्द्र केसी र ‘ख’ मा भद्रबहादुर विष्ट निर्वाचित भएका छन्।

डोल्पा र जुम्लामा शाही

कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । २ सय ३७ मत प्राप्त गरी शाही सभापति बन्दा उनका प्रतिस्पर्धी अंगदकुमार बुढाको पक्षमा १ सय ५८ मत परेको थियो।

उपसभातिमा पूर्णबहादुर शाही र लवकुमार शाही, सचिवमा दशरथ रोकाय र हिक्मतबहादुर शाही विजयी हुँदा सुरेन्द्रप्रसाद महत र लक्ष्मणकुमार शाही सहसचिव भएका छन्। ५ सय १९ मतदातामध्ये ४ सय ३९ मत खसेको थियो । महाधिवेशन प्रतिनिधितर्फको मत गणना हुन बाँकी रहेको निर्वाचन अधिकृत रामकुमार श्रेष्ठले बताए।

यस्तै,कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जुम्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित भएका छन् । उनले निवर्तमान सभापति दिपबहादुर शाहीलाई ५ भोटले पराजित गर्दै सभापति बनेका हुन्। निर्वाचन अधिकृत हसिना प्रधानका अनुसार विजयी शाहीले ४ सय ७४ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी शाहीले ४ सय ६९ मत प्राप्त गरेका छन्।

सल्यान सभापतिमा केशबहादुर विष्ट निर्वाचित भएका छन् । उनी प्रतिद्वन्द्वी ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै निर्वाचित भएका हुन्। विष्टले ६ सय १२ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी पुरीले ६ सय ७ मत ल्याएका छन् । उपाध्यक्षमा सन्तोष केसी र चक्र देवकोटा, सचिवमा प्रकास भण्डारी र एकराज वुढाथोकी, सहसचिवमा जनकराज गौतम र पदमबहादुर बुढाथोकी निर्वाचित भएका छन्।

Sher Bahadur Deuba

Post comment

Related Articles